

दैलेख भदौं ३ गते ।
लगातार परेको बर्षातसँगै आएको बाढी पहिरो सँगै प्राकृतिक विपतिका कारण दैलेखमा एकै दिन तीन जनाले ज्यान गुमाएका छन् । प्राकृतिक बिपतिमा परेर एक जना बेपत्ता भएका छन् ।
दैलेखको ठाँटीकाँध गाउँपालिका वडा ४ गैरागाउँमा मंगलवार राति आएको महिरोले घर पुरिदा ११ बर्षे बालक जनक कठायतको मृत्यु भएको छ भने अन्दाजी १२ बर्षे बालक लोकेश कठायत वेपत्ता भएका छन् । एकै घरका अन्य ५ जना घाईते भएका छन् । घाईतेको उपचारका लागि सदरमुकाम ल्याउने काम जारी छ भने वेपत्ता परेका बालक लोकेश कठायतको खोजी कार्य जारी छ । पहिरोले गाउँनै जोखिममा भएपछि बिसल्लाका १५ घर परिवारलाई अन्यत्र सारीएको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले जानकारी दिएका छन्् । पहिरोमा परेको घरको कुनै निशानानै नदेखिने अवस्थामा छ । लगातार बर्षात भैरहेका कारण उद्धारमा समस्या भएको शाहीको भनाई छ । प्रहरी र पालिकाका जनप्रतिनिधिहरु घटनास्थल तर्फ गएका छन् ।
दैलेखको भगवतीमाई गाउँपालिका ५ कट्टीमा लगातारको बर्षातसँगै घर भत्किदा बलबहादुर रावतको मृत्यु भएको छ । अन्य परिवारहरु अलग घरमा सुतेको र बलबहादुर मात्रै सुतेको घर पहिरोले पुरै पुरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरीबहादुर ओलिले जानकारी दिएका छन् ।
दैलेखको नौमूले गाउँपालिका वडा नं. ५ भित्रिखोला छेउमा खोलाले बगाएर मृत्यु भएका एकजना पुरुषको शव फेला परेको छ । उनको शनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
लगातारको बर्षात सँगै कर्णाली राजमार्गको दैलेख खण्ड अवरुद्ध भएको छ । कर्णाली राजमार्गमा पर्ने रामाघाट बजार डुवानमा पर्ने खतरा भएपछि गए रातीनै रामाघाट बजारमा बसोवास गर्ने स्थानीयहरुलाई प्रहरी उद्धार गरेको छ ।

तस्विर रमेश दशौदिको प्रोफाईलबाट






